काठमाडौं — गायिका एलिना चौहानले अमेरिकाको एक महिनाभन्दा लामो सांगीतिक भ्रमण आफूका लागि ठूलो सिकाइ भएको बताएकी छन् । संयुक्त राज्य अमेरिकामा आयोजित टुर सकेर स्वदेश फर्केपछि उनले आयोजकप्रति तीव्र असन्तोष व्यक्त गरेकी हुन् ।
एलिनाका अनुसार भ्रमणका क्रममा आफू र अन्य कलाकारहरूमाथि सम्मानजनक व्यवहार हुनुपर्ने ठाउँमा नोकरजस्तो व्यवहार गरिएको थियो । सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन्,
“जस्तो छ, त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो । कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो।”
उनले आयोजकहरूले कलाकारको संरक्षकको रूपमा व्यवहार गर्नुपर्ने भए पनि मालिकझैँ रवैया देखाएको आरोप लगाइन् ।
“कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ,” एलिनाले लेखेकी छन् ।
एलिनाले आगामी दिनमा कुनै पनि कलाकारले यस्तो अपमानजनक व्यवहार सहनु नपरोस् भन्ने आशा व्यक्त गरेकी छन् ।
उनीसँगै गायक प्रताप दास र बद्री पंगेनीले अमेरिकाका विभिन्न शहरमा सांगीतिक कार्यक्रमहरू गरेका थिए । एलिना र प्रताप सँगै स्वदेश फर्किएका हुन् । यसअघि सँगै अमेरिका गएकी गायिका कला लम्साल अस्वस्थ भएपछि आयोजकले जबरजस्ती फर्काएको पनि खबर छ ।
दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्