काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले सात वटा प्रमुख राजनीतिक दलहरूसँग वार्ता गर्ने भएकी छन्। प्रधानमन्त्रीको पहलमा कात्तिक ४ गते मंगलबार अपराह्न ४ बजे बालुवाटारमा वार्ता आयोजना गरिने छ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दलहरूलाई दुई–दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन आग्रह गरिएको छ। उनले केही दललाई औपचारिक चिठी पठाइसकेको जानकारी दिँदै बाँकीलाई पठाउने काम भइरहेको बताए।
वार्तामा सहभागी गराउन राष्ट्रिय मान्यता प्राप्त सात दलहरू — नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, र जसपा नेपाल (उपेन्द्र यादव) — लाई आमन्त्रण गरिएको छ।
यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमै दलका प्रतिनिधिसँग भेटघाट गरेका थिए। निर्वाचन सुनिश्चित गर्न फेरि प्रधानमन्त्रीले स्वतः पहल गर्दै बहुपक्षीय संवाद अघि बढाएकी हुन्।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्