कामी रीता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरे

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३

काठमाडौं । नेपाली पर्वतारोहणका जीवित किंवदन्ती मानिने कामी रीता शेर्पाले विश्व कीर्तिमानलाई फेरि एक पटक विस्तार गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथामा आफ्नो ३२औँ सफल आरोहण पूरा गरेका छन् ।

आज बिहान १०ः१२ बजे उनले सफलतापूर्वक सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । यो ऐतिहासिक उपलब्धिसँगै उनले आफैँले बनाएको सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानलाई थप मजबुत र नयाँ उचाइमा पुर्‍याएका छन्।

सन् १९९४ बाट सगरमाथा आरोहणको यात्रा सुरु गरेका शेर्पा विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा हिमाल आरोहणमा सक्रिय छन् । कठिन मौसम, जोखिमपूर्ण मार्ग र उच्च हिमाली चुनौतीका बीच पनि उनले देखाएको निरन्तरता, साहस र धैर्यले उनलाई विश्वकै अग्रणी उच्च हिमाल आरोहीमध्ये एक बनाएको छ। उनलाई नेपाली मात्र होइन, विश्वभरका पर्वतारोहण समुदायले सगरमाथाको प्रतीक र प्रेरणाको स्रोतका रूपमा सम्मान गर्दै आएका छन्।

यस वर्षको सफल आरोहणपछि उनी अहिले सुरक्षित रूपमा आधार शिविर (बेस क्याम्प) तर्फ फर्किँदै गरेको जनाइएको छ। उनको आरोहण अभियान व्यवस्थापन गरिरहेको कम्पनी ुसेभेन समिट ट्रेक्सुले सफलताको पुष्टि गर्दै सुरक्षित अवतरणको कामना गरेको छ।

कामी रीता शेर्पाको यो अभूतपूर्व उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *