मिलानको सानो तर महत्वपूर्ण जित, इन्टरको लगातार जित यात्रामा ब्रेक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २५

एजेन्सी – इटालीको सिरी ए अन्तर्गत भएको सहरी डर्बीमा AC Milan ले कट्टर प्रतिद्वन्द्वी Inter Milan माथि १–० को कठिन जित निकालेको छ।

यस नतिजासँगै मिलानले लिग तालिकाको शीर्ष स्थानमा रहेको इन्टरसँगको अंक दूरी ७ मा झारेको छ। खेलको निर्णायक गोल पहिलो हाफ सकिन करिब १० मिनेट बाँकी रहँदा पर्भिस एस्टुपिनानले गरेका थिए। उनले युसुफ फोफानाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै शक्तिशाली प्रहारमार्फत बल जाली चुमाएका थिए।

गोल हुनुअघि भने इन्टरले राम्रो अवसर सिर्जना गरेको थियो। हेनरिक म्खितार्यान मिडफिल्डबाट अघि बढ्दै पेनाल्टी क्षेत्रभित्र पुगे पनि उनको प्रहार गोलकिपरले सहजै नियन्त्रण गरेका थिए।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे। मिलानका फोफानाको प्रहार इन्टरका गोलरक्षकले बचाए भने इन्टरका फेडेरिको डिमार्कोले पाएको राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेनन्।

खेलको अन्तिम समयमा इन्टरले बराबरी गोलका लागि लगातार दबाब बनाएको थियो। तर मिलानको रक्षापंक्तिले मजबुत प्रदर्शन गर्दै कुनै पनि अवसरलाई सफल हुन दिएन।

यो जितसँगै मिलानले यस सिजन इन्टरलाई दोस्रो पटक पराजित गरेको छ। साथै इन्टरको लगातार आठ खेलको विजयी यात्रा पनि यही खेलमा आएर टुटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *