रवि लामिछानेको एकै दिन पाँचै निर्वाचन क्षेत्रमा जनसम्पर्क

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार साँझ रुपन्देही आइपुगेका छन् । उनी मणिग्रामस्थित तारे होटल ‘विश्राम बाटिका’मा बसेका छन् ।

सोमबार लामिछानेले रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रको भ्रमण गर्दै व्यापक जनसम्पर्क गर्ने कार्यक्रम तय भएको छ । पार्टीका अनुसार उनको जनसम्पर्क यात्रा बिहान ८ बजे क्षेत्र नं. १ अन्तर्गत देवदहको खैरेनीबाट सुरु हुनेछ ।

रास्वपा रुपन्देही सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार लामिछाने दिनभर पाँचवटै निर्वाचन क्षेत्रका करिब २६ स्थानमा पुग्नेछन् । यद्यपि सबै स्थानमा औपचारिक सम्बोधन भने नहुने र केही चयनित स्थानमा मात्रै बोल्ने कार्यक्रम रहेको उनले बताए ।

कार्यतालिका अनुसार बिहान ११ बजे क्षेत्र नं. ३ को भैरहवा, दिउँसो १ बजे क्षेत्र नं. ४ को कोटहीमाई–मर्चवार, २ बजे क्षेत्र नं. ५ को पर्सहवा, सवा ३ बजे क्षेत्र नं. २ को मोतिपुर पुग्नेछन् । त्यसपछि बुटवल, नयाँगाउँ र सालझण्डी हुँदै साँझ सवा ६ बजे बुद्ध जन्मस्थल लुम्बिनी पुगेर मायादेवी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ ।

रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार क्रमशः क्षेत्र नं. १ मा महामन्त्री सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बनिया र ५ मा तौफिफ अहमद खान रहेका छन् ।

रुपन्देहीका कार्यक्रम सम्पन्न गरेपछि सभापति लामिछाने सोमबार राति कपिलवस्तु प्रस्थान गर्ने पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *