काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले धेरैजसो क्षेत्रका उम्मेदवारको नाम तय गरेको हो ।
बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिँदै केही निर्वाचन क्षेत्रबाहेक प्रायः सबै स्थानमा उम्मेदवार चयन भइसकेको बताए । उनका अनुसार बाँकी रहेका क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरेर अन्तिम निर्णय सार्वजनिक गर्नेछन् ।
करिब सात घण्टा लामो चलेको सचिवालय बैठकले उम्मेदवार छनोटलाई अन्तिम रूप दिएको हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । यससँगै सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्म अधिकांश जिल्लामा उम्मेदवारको सूची सार्वजनिक गरिएको छ ।
सुदूरपश्चिम र गण्डकी प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लागिसकेको छ भने लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशका केही क्षेत्रमा अझै उम्मेदवार घोषणा हुन बाँकी छ । काठमाडौं, रुपन्देही, दाङ, झापा, मोरङ, पर्सालगायतका जिल्लाका केही निर्वाचन क्षेत्रमा अन्तिम निर्णय हुन बाँकी रहेको पार्टीले जनाएको छ ।
एमाले नेतृत्वका अनुसार बाँकी क्षेत्रहरूमा स्थानीय अवस्था, गठबन्धन सम्भावना र पार्टीभित्रको सन्तुलनलाई ध्यानमा राखेर निर्णय गरिनेछ । अध्यक्ष ओलीको नेतृत्वमा ती क्षेत्रको टुंगो चाँडै लगाइने पार्टी स्रोतको दाबी छ ।
उम्मेदवार चयन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेसँगै एमाले चुनावी तयारीलाई तीव्र बनाउने तयारीमा रहेको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्