काठमाण्डौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी छन् ।
यही पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा उनीहरूबीच भेट भएको थियो ।
उक्त भेटपछाडि पनि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले पनि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग अधिवेशनको तयारीका सम्बन्धमा छलफल गरेका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलका अनुसार सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा छ । मन्त्री खरेलले अनलाइनखबरसँग भनेका छन्, ‘यही पुस तेस्रो वा चौथो सातामा राष्ट्रिय सभाको बैठक बस्ने गरी प्रक्रिया अगाडि बढ्छ ।’
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । अधिवेशन आश्वान गर्दा एक साताको समय दिने अभ्यास पनि छ ।
मन्त्रिपरिषद्को बैठक बिहीबार बस्दैछ । बिहीबार नै यो विषयमा मन्त्रिपरिषद्का छलफल हुन सक्ने पनि जनाइएको छ ।
गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो ।
आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन समेत जलेको छ । वैकल्पिक रुपमा सिंहदरवारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिँदैछ ।
राष्ट्रिय सभामा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम समेत सञ्चालन हुने गरेको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्