काठमाडौं : एकीकृत समाजवादीले नेकपा एमालेका नेता भीम रावल र नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टीमा भित्र्याउन छलफल थालेको छ ।
आफ्नै नेता–कार्यकर्ता एमालेमा जाने चर्चाबीच एकीकृत समाजवादीले रावल र गौतमलाई पार्टीमा भित्र्याउन पहल थालेको हो । दुवै नेतासँग अध्यक्ष नेपालसहित शीर्ष नेताहरूले पटक-पटक भेटेर वार्ता गरिसकेका छन् । अध्यक्ष नेपालसँगको भेटमा वामदेवले आफूलाई वरिष्ठ उपाध्यक्ष दिए प्रवेश गर्न तयार रहेको बताएका थिए । तर, अहिले पार्टीको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसकेका छन्।
गौतम एमालेमा फर्किन पनि तयार हुनुहुन्छ । तर, एमालेले भाउ नदिएपछि उनी दोधारमै छन् । तत्कालीन नेकपा भित्रको विवादपछि गौतमले उपाध्यक्ष पदबाट राजीनामा दिएर एकता अभियान चलाएका थिए । तर, उनको अभियान भने सफल हुन सकेन । आफैँसँग भएका नेता–कार्यकर्तासमेत जोगाउन नसकेपछि उनी आफैँ सहाराको खोजीमा छन् ।
एमालेको दशौँ महाधिवेशनमा ओलीसँग भिडेका रावल एमालेमा भूमिकाविहीन छन् । उनी एमालेमै रहे पनि पार्टीले कुनै जिम्मेवारी दिएको छैन । एकता अभियानको नाममा गौतमले खडा गरेको संगठन र नेता रावलको सुदूरपश्चिममा बलियो पकड रहेकाले अध्यक्ष नेपालले पनि प्रयास जारी राखेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया