काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका नेताहरूलाई निष्कासित गर्ने निर्णय गरेको छ ।
बैठकले नयाँ पार्टीमा लागेकाहरूलाई पार्टी अभिलेखबाट हटाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । गल्ती महसूस गरेर पार्टीमा फर्किन चाहनेहरूका लागि ढोका खुला रहेको समेत प्रवक्ता ज्ञवालीले बताए ।
यस्तै बैठकले पार्टीको विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले यसअघि भदौ अन्तिमा गर्ने भनेको विधान अधिवेशन र मंसिर दोस्रो साता तय भएको राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेको हो । उपाध्यक्ष भीम रावलले दुवै अधिवेशनको मिति सारेको बताए ।
यस्तै बैठकले १० बुँदे सहमतिलाई तत्काल कार्यन्वयन गर्ने निर्णय गरेको छ । बैठकले पार्टी एकताको मर्मलाई ध्यान दिँदै पार्टीका सबै कमिटी र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्ने निर्णय लिएको हो ।
बैठकपछि एमाले सचिव ज्ञवालीले जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन गरेको जानकारी दिए ।
महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहेका छन् ।
यो कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदले सहजीकरण गर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया