काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा फोहरमैला व्यवस्थापन गर्न जडित प्लान्ट खरिदमा अनियमितता भएको संसदीय समितिले ठहर गरेको छ ।
संसदीय उपसमितिले प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत गरेको फोहरमैला व्यवस्थापन प्लान्ट खरिदमा अनियमितता भएको ठहर गरेको हो ।
उपसमितिले गरेको छानबिनको आधारमा प्रदेशको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अध्ययन गरी कारबाही प्रकृया अघि बढाउन लेखी पठाउने निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालयले प्लान्ट खरिद गरी कैलालीको टीकापुर प्रादेशिक अस्पताल, कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल, बैतडी र बझाङ अस्पताललाई वितरण गरेको थियो ।
प्रदेश सभा सदस्य खेमादेवी बिष्ट संयोजक रहेको संसदीय छानबिन उपसमितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्दै सार्वजनिक लेखा समितिका संयोजक अक्कलबहादुर रावलले अस्पतालको फोहर व्यवस्थापनका लागि आवश्यक उपकरण खरिदमा अनियमितता भएको देखिएको बताए ।
रावलले उपसमितिले प्रतिवेदनमा प्रस्तुत गरेको रायका आधारमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पठाइने जानकारी दिए ।
उनका अनुसार खरिद प्रक्रियामा त्रुटि रहेको तथा भन्सार प्रज्ञापनपत्रअनुसार प्रति इकाई मूल्य र खरिदका लागि सम्झौता गरिएको मूल्यमा ठूलो अन्तर देखिएको हुँदा जिम्मेवार पदाधिकारी र कर्मचारीमाथि न्यायिक छानबिन आवश्यक देखिएको छ ।
सोही कारण उपसमितिले अख्तियारलाई लेखी पठाउने राय दिएको हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्