कालीगण्डकी बाढीले फर्सेका ७५ घर बगायो, सयौँ प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १६

पर्वत । कालीगण्डकी नदीमा आएको भीषण बाढीले जलजला गाउँपालिका–८ फर्सेमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण ७५ घर पूर्ण रूपमा बगेका छन् भने थप २७ घर जोखिममा परेका छन्।

गाउँपालिकाका अनुसार बाढीबाट ७५ परिवार विस्थापित भएका छन्। ती परिवारमा १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन्।

बाढीले घरसँगै स्थानीयका गोठ, पशुचौपाया, अन्नपात, लत्ताकपडा, फर्निचर तथा अन्य सम्पत्ति बगाएको छ। कृषि तथा पशुपालनमा निर्भर परिवारको आम्दानीको मुख्य आधारसमेत बाढीले प्रभावित बनाएको छ।

स्थानीयका अनुसार फर्सेमा पहिले व्यापारिक गतिविधि हुने गरे पनि पछिल्लो समय दूध तथा तरकारी उत्पादनको क्षेत्रका रूपमा विकास भएको थियो। यहाँबाट दैनिक सयौँ लिटर दूध बजारमा जाने गरेको थियो। बाढीपछि धेरै किसानका गाईभैँसी प्रभावित हुँदा दूध उत्पादनसमेत घटेको छ।

बाढी आउनुअघि स्थानीयलाई पूर्वसूचना दिइएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। स्थानीय युवाले रातिको समयमा माइकिङ गरी बस्ती खाली गराएका थिए।

बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने पुरानो झोलुङ्गे पुलसमेत बगाएपछि स्थानीय आवतजावत प्रभावित भएको छ। पुल क्षतिग्रस्त भएपछि विद्यालय जाने विद्यार्थीसमेत घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन्।

विस्थापित परिवार अहिले अस्थायी शिविर तथा आफन्तको आश्रयमा छन्। उनीहरूले तत्काल राहतसँगै सुरक्षित स्थानमा पुनःस्थापना र नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन माग गरेका छन्।

जलजला गाउँपालिकाले प्रभावित क्षेत्रको क्षतिको विवरण सङ्कलन तथा राहत वितरणको काम अघि बढाएको जनाएको छ। गाउँपालिकाले बाढी प्रभावितको पुनःस्थापना र बस्ती संरक्षणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग सहयोग मागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *