×

१८ महिने बालिकाको बलात्कार पछि हत्या

फाल्गुन ३०, २०७८ | दाक्सु मिडिया

मोरङ – १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको हो।

पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी गराए।

उनले घटनामा संलग्नलाई आफूहरूले १२ घण्टाभित्रै पक्राउ गरेको समेत बताए।

प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।

डेढ वर्षिय बालिका शुक्रबार साझ ५:३० बजेसम्म घरमा आमासँग खेल्दै थिईन्। छोरी घरभित्र थिईन्। आमा करेसबारीमा काम गर्न गइन्। केही बेर पछि घर पस्दा छोरी थिईनन्। छोरी खोज्दै हिडेको परिवारले एक घण्टापछि घरदेखि करिब १५० मिटर परको झाडीमा अचेत अवस्थामा छोरीलाई भेटायो। बालिका रगतपिच्छे थिईन्। यौनाङ्गबाट रगत बगिरहेको थियो। छरछिमेक भेला भएर विराटनगरस्थित नोबेल अस्पताल पुर्याए तर बचाउन सकेनन्। राति १२ बजे अस्पतालले उनलाई मृत घोषणा गर्यो।

मोरङ प्रहरीका एसपी जनार्दन जिसीका अनुसार बालिका र आरोपितको घर डेढ किमिको दुरीमा छ। एसपी जिसी भन्छन्, `सामान्य मानिसले यस्तो घटना घटाउनै सक्दैन। घटना सुनियोजित देखिन्छ। अजय गाँजा, चुरोटलगायत अन्य लागूऔषध दुर्व्यसनी थिए। असामान्य अवस्थाका देखिने मिथुन उनको सहोदर दाजु हुन्। अजयकै योजनामा दाजुभाइ मिलेर यस्तो जघन्य अपराध गरेका हुन्। अजयले करिव डेढ महिना अघि देखि नै बालिकालाई टार्गेट गरेको देखिन्छ। गाँजा खाएपछि उनी ससाना बालिकाको खोजि गर्ने गरेको खुल्न आएको छ।’

उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा संलग्न थिए। उनी गत मंसिरमा कैद भुक्तान गरी जेलबाट छुटेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: