
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने भएका छन् । यूएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता मन्त्री श्रेष्ठ यूएई जाने तय भएको उनको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल हुनेछ ।
भ्रमणअघि मन्त्री श्रेष्ठले नेपालका लागि यूएईका राजदून साइद हमदान अल नाकीलाई आइतबार मन्त्रालयमा बोलाएर छलफल गरेका छन्। नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले राजदूत साइदसँग छलफल गरेका हुन् । रोजगारीको प्रलोभनमा यूएईमा अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न उनले राजदूतमार्फत यूएईको सहयोग मागेका थिए ।
मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्ने क्रममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरेको जानकारी राजदूतलाई गराए ।
नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन पनि यूएई सरकारबाट मन्त्री श्रेष्ठले सहयोग मागे ।
राजदूत साइदले अलपत्र परेका नेपालीलाई यूएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेलाई पनि आवश्यक सहयोग गर्ने बताए । मन्त्री श्रेष्ठको यूएई भ्रमणको क्रममा नेपाल-यूएई संयुक्त समितिको बैठक पनि आयोजना हुने तय भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया