×

भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री लेखकको राजीनामाबारे कांग्रेसमा दुई धार

जेष्ठ १२, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनेरनदिनेबारे उनकै पार्टी नेपाली कांग्रेसमा दुई धार देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा सेटिङ भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार छापा हानेर प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएपछि प्रश्न गृहमन्त्री लेखकमाथि तेर्सिएको छ ।

सो प्रकरणमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले उनको औपचारिक रुपमा राजीनामा माग गरिसकेको छ । तर कांग्रेसभित्रै भने लेखकले राजीनामा दिनु पर्नेरनपर्नेबारे नेताहरू दुई धारमा देखिएका हुन् । स्पष्ट रूपमै दुई गुटमा विभाजित कांग्रेसको संस्थापन पक्ष लेखकलाई बचाउन लागेको छ । डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूह भने आरोप लागेपछि निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ । लेखक कांग्रेसमा संस्थापन पक्षीय नेता हुन् ।

इतर समूहका नेता डा। कोइरालाले शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । डा. कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको उदाहरण रहेकाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका छन् ।

डा. कोइरालाले मन्त्री लेखकलाई राजीनामा दिन सुझाएको अर्को दिन आइतबार संस्थापन पक्षीय नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् ।

विराटनगरमा आइतबार बिहान पत्रकारहरूसँग कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतासमेत रहेका सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताएका छन् ।

कांग्रेसले संस्थागत रूपमा भने यसबारे धारणा सार्वजनिक गरेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: