वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १९

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा हालसम्म खोटाङका ६० हजारभन्दा बढी नागरिक विभिन्न देशमा पुगेका छन् ।

मुलुकभरको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना त्रासबीच आर्थिक वर्ष २०७७र७८ मात्रै जिल्लाका एक हजार ९२८ नागरिक वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ ।

कोरोना महामारीकै बीचमा पनि खोटाङका १०४ महिलासमेत वैदेशिक रोजगारीका लागि विदेशिएको (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय बासिन्दाको घरका युवाशक्ति वैदेशिक रोजगारीमा रहेको पाइएको छ । यतिसम्मकि एउटा घरका बुवा, छोरीछोरी तथा बुहारी गरी पाँचजनासम्म वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

पहाडी भू–भाग रहेको जिल्लामा जीवन निर्वाहमुखी खेतीभन्दा अन्य आम्दानीको स्रोत नभएपछि रोजगारीको सिलसिलामा विदेशिनुपर्ने बाध्यता रहेको युवापुस्ताले बताएका छन् ।

वैदेशिक रोजगारीमा गएका परिवारको आर्थिक अवस्थासमेत सुदृढ हुँदै गएको सामी परियोजनाले जनाएको छ ।

कोरोना त्रासबीचमा जिल्लाबाट काठमाडौँ वा काठमाडौँबाट जिल्ला आवतजावत गर्ने अवस्था नहुँदा एजेण्टहरू गाउँगाउँ सक्रिय भएको पाइएको छ ।

महामारीमा सहज आवतजावत गर्ने अवस्था नहुँदा एजेण्टले आफैं काम गरिदिने भन्दै कागजात लिएर रकम असुल्ने गरेकोसमेत पाइएको संयोजक राईले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार सरोकार समाज खोटाङले वार्षिक कार्ययोजना तय गरेको छ । वैदेशिक रोजगारलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन समाजले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

दशैँ र तिहारका बीचमा सितला मावि खाल्लेमा शिक्षक अभिभावक अभिमुखीकरण, खाल्लेमै ‘इस्यू’मा आधारित कार्यक्रम, मङ्सिर २ गते दिक्तेलमा शिक्षक, कर्मचारी र सामाजिक व्यक्तिसँग अन्तक्र्रिया, पुस ३ गते दिक्तेलमा सडक साहित्य कार्यक्रमलगायत सचेतनामूलक अभियान सञ्चालन गरिने वैदेशिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राईले बताउनुभयो ।

सरोकार समाजले जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउनदेखि वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।

यसैबीच वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियालगायत देशमा पुगेको अवस्थामा आव २०७७–७८ मा आठ युवाले ज्यान गुमाएको कार्यक्रम संयोजक राईले बताउनुभयो ।

साउदी अरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका मिलन दर्जी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडाका नरेश बर्देवा, खोटेहाङ गाउँपालिका–५ चिप्रिङका अनिल राई, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका धनशेर राई, मलेसिया पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ध्यानसिंह राई र रावाबेँसी गाउँपालिका–६ हौँचुरका कृष्णकुमार राई, कतार पुगेका केपिलासगढी गाउँपालिका–७ सुङ्देलका छत्रे भुजेल र साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको मृत्यु भएको सामी परियोजनाले जनाएको छ ।

रोजगारीको सिलसिलामा विभिन्न समयमा विभिन्न देशमा ज्यान गुमाएका उनीहरुमध्ये कतिपयको शव तथा कतिपयको अस्तु मात्र घर ल्याइएको कार्यक्रम संयोजक राईले जनाककारी दिनुभयो ।

प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी), दूतावासलगायतको पहलमा मृतकको शव तथा अस्तु मात्र घर ल्याइएको जनाइएको छ । चालु आव केपिलासगढी गाउँपालिकाको एक कामदारको मृत्यु भएको सामीले जनाएको छ ।

वैदेशिक रोजगार सरोकार समाज खोटाङले वार्षिक कार्ययोजना तय गरेको छ । वैदेशिक रोजगारलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन समाजले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

दशैँ र तिहारको बीचमा शितला मावि खाल्लेमा शिक्षक अभिभावक अभिमुखीकरण, खाल्लेमै ‘इस्यू’मा आधारित कार्यक्रम, मङ्सिर २ गते दिक्तेलमा शिक्षक, कर्मचारी र सामाजिक व्यक्तिसँग अन्तक्र्रिया, पुस ३ गते दिक्तेलमा सडक साहित्य कार्यक्रमलगायत सचेतनामूलक अभियान सञ्चालन गरिने वैदेशिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राईले बताउनुभयो ।

सरोकार समाजले जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउनदेखि वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *