
काठमाण्डौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने श्रमिकहरूले उडानमा ढिलाइ भएको जनाएका छन् । भिसा आइसकेको तर, उडान तालिका नआउँदा आफूहरू मर्कामा परेको सम्बन्धित श्रमिकको भनाइ छ ।
ईपीएस अन्तर्गत छनोट भएर सबै प्रक्रिया पूरा गरिसकेका तर, पर्याप्त उडान उपलब्ध नहुँदा आफूहरू जान नपाएको बताएका हुन् ।
नेपाल सरकार र दक्षिण कोरियाली सरकारबिचको सम्झौताअनुसार श्रमिकहरू निश्चित समयसीमाभित्र रोजगारदातासँग आबद्ध हुनुपर्ने हुन्छ । तर, हाल उडान सङ्ख्या अत्यन्त कम हुँदा १७०० भन्दा बढी नेपाली श्रमिकहरू अन्योलमा परेको उनीहरुको भनाई छ ।
कतिपय श्रमिकहरूको भिजा अवधि सकिँदा उनीहरूको रोजगारी नै गुमिसकेको समेत बताएका छन् ।
नियमित उडान सङ्ख्या वृद्धि गर्न, चार्टर फ्लाइटको व्यवस्था गर्न वा वैकल्पिक उपायहरू खोज्न सरकारसँग उनीहरूले माग गरेका छन् ।
लामो संघर्ष गरेर कोरियामा रोजगारीका लागि जान छनौट भएको तर, पर्याप्त उडान नहुँदा जानबाट वञ्चित हुने अवस्था आएको उनीहरूको भनाइ छ ।
यो विषयमा श्रमिकहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई समेत जानकारी गराएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस शाखा कार्यालयले भिसा आइसकेका सबैले जान पाउने जनाएको छ ।
शाखा कार्यालयका शाखा अधिकृत कमल श्रेष्ठका अनुसार मार्च महिनाको पहिलो हप्ता ३५५ जनाको उडान तालिका आइसकेको छ । त्यस्तै दोस्रो हप्तामा ६२५ जनाको उडान तालिका आएको छ । भने तेस्रो र चौथो हप्ताका लागि करिब ८०० जना जतिको आउने उनको भनाइ छ । मार्च महिनाभरमा १८०० जना जति कोरिया जान पाउनेछ ।
त्यस्तै अप्रिल र मे महिनाको लागि समेत कोरियाले उडान सेड्युल पठाउनेछ । कोरियाका लागि उडान टेन्डर प्रक्रियाका कारण उडान तालिकामा केही फरक परेको हो । हाल ट्रान्जिट मार्फत उडान हुँदै आएको छ । यसअघि सिधा उडानमार्फत मात्रै कामदारहरू जाने गरेका थिए । अहिले ट्रान्जिटमार्फत जाँदा हवाई भाडा समेत घटेर ४८ हजार ६६५ रुपैयाँ भएको छ । यसअघि एक लाख २३ हजार हवाई भाडा तिर्दै आएका थिए ।
टेन्डर प्रक्रियाका, डिसेम्बर महिनामा कोरियामा परेका चाडपर्व लगायतका कारणले केही ढिलाइ भएको ईपीएस शाखा कार्यालयले जनाएको छ ।
हाल भिसा क्यान्सिल भएकाहरूको हकमा भने उडान तालिकाका कारण नभई अन्य कारणले भएको कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया