×

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

अशोज १, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप नेपाल आइपुगेको छ । गएराति चीन गएको नेपाल वायुसेवा निगमको वाइडबडी विमानले दिउँसो २ बजे उक्त मात्रामा खोप ल्याएको हो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ। बाँकी खोप आज आएको हो ।

यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो। तर पछि शंसोधन गर्दै एक दिन पछाडि सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ।

जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो।​ भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो। पहिलोपटक एकै खेपमा यति धेरै खोप ल्याइएको हो ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ। सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ।

यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज अस्ट्राजेनेका खोप आइसकेको छ।

खोपलाई टेकुस्थित स्टोरमा भण्डारण गरिने स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले बताए । उनका अनुसार खोप तुरुन्तै लाउन सुरु गरिनेछ । ‘हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं,’ उनले भने ।

हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए । हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: