×

भगवती कोत मन्दिर पुनःनिर्माण

भदौ १२, २०७८ | दाक्सु मिडिया

म्याग्दी । म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण गरिएकोे छ ।

पुरातत्व विभागको बोलपत्र आह्वानमा ठेक्का पाएको मिलिजुली–किवेष्ट जेभीले रघुगङ्गा गाउँपालिका–२ स्थित उक्त मन्दिर पुनःनिर्माण गरेको हो ।

कम्पनीले करसहित रु ६९ लाख ३० हजार ५६६को लागतमा निर्माण गर्न विसं २०७७ फागुन २३ मा ठेक्का सम्झौता गरेकामा पाँच महिनामै सम्पन्न गरेको वडाध्यक्ष रिम कटुवालले बताउनुभयो ।

पुरानै शैलीमा निर्माण गरिएको मन्दिरमा सिमेन्ट र रड सटृा चुना, सुर्की, गिटी र बालुवा प्रयोग गरिएको कम्पनीका प्रतिनिधि राजीव ढुङ्गेलले बताउनुभयो ।

सत्रौँ शताब्दीमा निर्माण गरिएको मन्दिरमा दैनिक नित्य पूजाका साथै चैते र बडादशैँका बेला विषेश पूजा हुन्छ । दशैँको पूजामा यहाँ बलि चढाउने गरिन्छ ।

धौलागिरि आइसफल पदमार्गले छोएको मन्दिर परिसरबाट कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोटसँगै अन्नपूर्ण र नीलगिरि हिमाललाई सहजै नियाल्न सकिन्छ ।

यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न जोड दिइएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र कटुवालले बताउनुभयो ।

सदरमुकाम बेनीदेखि चार कोष उत्तरमा कालिगण्डकी र रघुगङ्गा नदीको दोभानको शिरमा रहेको यस मन्दिर आउन बेनी–गलेश्वर–पिप्ले–भगवती सडकले सहज बनाउनाका साथै पैदल यात्रा पनि गर्न सकिन्छ ।

तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतका रुपमा चिनिँदै आएको मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघि विभिन्न भुरे र टाकुरे राजा तथा १४ देखि १७ औँ शताब्दीका बाइसे चौबिसे राज्यका राजासँग जोडिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: