बैतडी – बैतडीको निङ्गलाशैनी भगवती मन्दिरको जात्रा सोमबार पनि जारी छ । यस जात्रामा बैतडी जिल्लासहित दार्चुला, बझाङ, डडेल्धुरालगायत भारतीय दर्शनार्थीसमेत आउने गर्दछन् । सोमबार पूर्णिमाको अवसरमा लाग्ने जात्रामा डेउडा खेल खेल्ने चलन छ ।
सोमबार महिला र पुरुषको छुट्टाछुट्टै हातजोडी डेउडा खेल दिनभर लाग्ने गर्दछ । पछिल्लो समय डेउडा खेलमा राजनीतिक व्यंग हुने गरेको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने अन्य जात्राको समयमा बलि हुने भए पनि यो जात्रामा बलि नहुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।
यो जात्रा भाद्र शुक्ल त्रयोदशीबाट सुरु भएर पूर्णिमाका दिन सकिन्छ । विगतमा अनन्त चर्तुदशीको रातभरी डेउडा खेल हुने गरेकोमा त्यो क्रम भने केही मात्रामा घटेको छ ।
यो जात्रामा तीन रात मन्दिरमा जाग्राम बस्ने भक्तजनहरूको समेत घुइँचो लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको स्थानीय बहादुर बोहराले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया