×

नयाँ दल बनाउने निर्णयसँगै माधव समूहमा पहिरो, अधिकांशले छाडे

भदौ २, २०७८ | दाक्सु मिडिया

काठमाडौं । नेकपा एमाले विभाजन गरेसँगै माधव कुमार नेपाललाई ठूलो मात्रामा दोस्रो तहका नेताहरुले साथ छोडेका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै दल विभाजन गरी नयाँ दल दर्ताको निम्ती निर्वाचन आयोगमा नेपालले निर्वाचन दिएसँगै उनको पक्षका नेताहरुले साथ छोडेका छन् ।

भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष युवराज ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्‍याएर दल दर्ता गर्न अघि बढेका छन् ।

तर उनलाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ ।

स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने भने नेता नेपालसँगै नयाँ दलमा हुनेछन् ।

केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ । यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।

अध्यादेश ल्याउन लगाएर माधवकुमार नेपालले र नेताहरुलाई कारबाही गरेर अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको भन्दै उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ‘व्यक्तिले गरेको गल्तीको सजाय पार्टीलाई दिन सकिन्न । हामी एकताकै पक्षमा छौं ।’

यस्तै वाग्मती प्रदेशमा पनि नयाँ समीकरण देखिएको छ । नेत्री अष्टलक्ष्मी शाक्यले नेपाल पक्षको साथ छोडेकी छन् । उनलाई मुख्यमन्त्री बनाउने अन्तिम तयारी भइसकेको छ । सोही अनुसार मुख्यमन्त्रीबाट डोरमणी पौडेलले राजीनामा दिइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: