नयाँ पार्टीको गृहकार्यमा माधव समूह, यी हुन् सम्भावित नाम र चुनाव चिन्ह

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २

काठमाडौँ । नयाँ पार्टी बनाउने घोषणा गरेका एमाले बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टीको गृहकार्य अघि बढाएका छन् ।

अब नयाँ पार्टीको नाम र चुनाव चिन्हको विषयमा उनले नेताहरुसँग परामर्श थालेको बताइएको छन् ।

दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि नेपाल समूहले नयाँ पार्टी गठनको तयारी गरेको हो। नेपाल समूहको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तयारी छ।

यस्तै सम्भावित नामको सूचिमा नेकपा समाजवादी वा नेकपा एमाले (क्रान्तिकारी) पनि रहेको स्रोतले जानकारी दिएको छ। तर नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) हुने सम्भावना बढी रहेको छ।

यस्तै सो पार्टीको चुनाव चिन्ह ताराभित्र हँसिया हथौडा वा कलश, दियो, पुस्तक राख्ने तयारी पनि सो समूहले गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजन सहज हुने व्यवस्थासहितको अध्यादेश पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ।

केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत नेताको समर्थनमा दल विभाजन गर्न सक्ने व्यवस्था सो अध्यादेशमा छ।

नेता नेपाल पक्षले अध्यादेश जारी भएपछि नयाँ पार्टी घोषणा गर्ने गरि विधानसहितको तयारीमा पनि काम गरिरहेको छ। सो पार्टीको केन्द्रीय कमिटी ६० देखि ९० सदस्यीय हुने पनि जनाइएको छ।

नेपाल समूहका नेता विरोध खतिवडाले एकताको अन्तिम कोसिसमा लागेको र अध्यादेश जारी हुने बेलासम्म प्रगति नभए दल दर्ताका लागि निर्वाचन आयोग जाने बताए । ‘नयाँ दल दर्ता गर्ने प्रक्रिया, सबै कागजात तयार छन्,’ उनले भने, ‘एकताको सम्भावना करिब–करिब सकिएको हुँदा अध्यादेश जारी हुनेबित्तिकै आयोग जाने तयारी छ ।’

स्रोतका अनुसार राष्ट्रपतिबाट बुधबार अध्यादेश जारी भए नयाँ दल दर्ताका लागि लगत्तै आयोग जाने तयारी छ । निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन भएको छ ।

स्थायी कमिटीका एक नेताका अनुसार दर्ताका लागि आवश्यक पर्ने कागजात जस्तै हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायत तयार गर्ने जिम्मा स्थायी कमिटी सदस्य वेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, विजय पौडेल, प्रमेश हमाललगायतलाई दिइएको छ ।

अब २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी कानुन जारी भएमा ४१ सदस्यको पनि पर्याप्त हुनेछ । त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसद नयाँ पार्टीको पक्षमा छन् । त्यसमा अझै केही थपिने नेताहरूको दाबी छ । राष्ट्रिय सभामा आफ्ना ९ सांसद रहेको यो समूहको दाबी छ ।

यद्यपि नेपाल समूहमै पार्टी फुटाउने विषयमा मतभेद छ । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरुले पार्टी फुटाउन नहुने भन्दै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *