‘गर्व गर्न लायक प्रदेश बनाउने सपना अधुरै रह्यो’

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २७

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

आफूमाथिको अविश्वास प्रस्तावबारे छलफल हुन बोलाइएको विशेष अधिवेशन सुरु हुनुअघि बुधबार प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए।

राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले सभामुखलाई पठाएको पत्रमा भनिएको छ, प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलले आज मिति २०७८।४।२७ गते अपराह्न १ः१५ बजे नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको व्यहोरा प्रदेश सभाका माननीय सदस्यहरुको जानकारीको लागि पठाएको छु ।

मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो। सोही दिन विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन गरिएको थियो।

राजीनामा दिएपछि पोखरेलले गर्व गर्न लायक प्रदेश राजधानी बनाउने आफ्नो सोच अधुरै छोड्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

राजीनामा पछि प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले अगाडि सारिएका योजना पूरा गर्न नयाँ बन्ने सरकारलाई सघाउन आग्रह गरे।

मुख्यमन्त्रीका रूपमा प्रदेशमा अगाडि सारिएका अधिकांश योजना पूरा गर्न सफल भए पनि नमूना र गर्व गर्न लायक प्रदेश बनाउने योजना बिचमै रह्यो, उनले भने।

पोखरेलले प्रदेश विश्वविद्यालय बनाउन बाँकेको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको र त्यसलाई पनि पूरा गर्न नसकेको बताए। ‘प्रदेशमा लगानी सम्मेलन गर्ने योजना थियो कोभिडका कारण गर्न सकिएन, आगामी असोज कात्तिकमा गरौंला भनेका थियौं त्यो पनि अधुरै रह्यो, उनले भने।

आफ्नो कार्यकालमा कर्मचारी प्रशासनबाट सकारात्मक सहयोग पाएको उल्लेख गर्दै नयाँ बन्ने सरकारलाई पनि सघाउन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *