
काठमाडौं । नेकपा एमालेमा उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीबाहेक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको कारण एमालेको आजको बैठक स्थगन भएको खुलेको छ ।
रावलले शनिबार अपरान्ह राष्ट्पति विद्यादेवी भण्डारी र अध्यक्ष ओलीलाई भेटेर बैठक रोक्न भनेका थिए ।
आफूहरूले माधव नेपाललाई एकताको लागि दबाब दिइरहेको र पछिल्लो बैठकले पनि एकताको पक्षमा निर्णय गरेको भन्दै नेपालसँग वार्ताको पहल गर्ने बताएको कारण बैठक एक दिन पर सारिएको बताइको छ ।
अध्यक्ष ओलीले शनिबारै महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेतासँग पनि परामर्श गरेका थिए । नेपाल पक्षले आजको बैठक स्थगित गर्न र सदस्यता नवीकरणलगायतका संगठनात्मक काम रोक्न माग गरको थियो ।
रावलको आग्रहपछि ओलीले बैठक सोमबारसम्मलाई स्थगित गरेको बताइएको छ । तर, माधव नेपालसँगको वार्ता भने तय भइसकेको छैन । दुई नेताबीच वार्ता गराएर पावर सेयरिङमा सहमति जुटाउने प्रयास भए पनि दुवै नेता एक अर्काका सर्त मान्न तत्पर नदेखिएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।
हिजो मात्रै राष्ट्रपति भण्डारीले उपाध्यक्ष रावललाई एमाले एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया