६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाइ एक साताका लागि लम्बिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज साँझ ५ बजे बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
थपिएको निषेधाज्ञामा बार अनुसार पसल सञ्चालन गर्न पाइने र साथै निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो। निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्नेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार आर्थिक गतिविधिलाई सहज बनाउने गरी प्रशासनले निर्णय गरेको छ । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । हार्डवेयर पसल भने दैनिक खुल्ने छ।
त्यस्तै, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय भएको अधिकारीले बताए । यही दिनमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खुल्नेछन् ।
बारका आधारमा खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय पनि यथावत छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्