×

उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो

जेष्ठ ३०, २०७८ | दाक्सु मिडिया

३० जेठ, काठमाडौं । फेरि एक साताका लागि उपत्यकामा निषेधाज्ञा जारी गरिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको जनाइएको छ। अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् साथै अनलाइन डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।

शैक्षिक सत्रको सुरुवात हुने बेला भएकाले प्रशासनले पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिने पनि निर्णय गरेको छ ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ। उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन ।

उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: