×

बाँकेका ८० प्रतिशत कोरोना संक्रमित अक्सिजनको सहारामा

बैशाख १२, २०७८ | दाक्सु मिडिया

पछिल्लो समय बाँके कोरोना संक्रमणको हटस्पट बनेको छ । भेरी अस्पतालका आइसोलेसन वार्डका सबै बेड बिरामीले भरिएका छन् भने कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पनि कोरोना संक्रमितले भरिएको छ ।
बाँकेमा भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा मात्र कोरोना संक्रमितको उपचार भइरहेको छ । भेरी अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएको १ सय ४० बेड सबै भरिएका छन् ।
बाँकेमा करिब ६०० जना बिरामी होम आइसोलेसनमा बसिरहेको अवस्था छ । संक्रमितमध्ये ८ जना भेन्टिलेटरमा छन् भने उपचार गराइरहेका ८० प्रतिशतलाई अक्सिजन दिइएको छ । बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले भयावह रूप लिन थालेपछि त्यहाँका स्थानीय तह आवश्यक तयारीमा जुटेका छन् ।
कोरोना महामारीसँग जुधिरहेको नेपालगञ्ज उपमहानगरले संक्रमण दर न्यूनीकरणका लागि हरसम्भव प्रयास गरिरहेको छ । स्थानीय सरकारले उपमहानगरको मनिकापुर वडा नम्बर ३ राँझामा १२० बेडको आइसोलेसन सेन्टर तयार गरे पनि पर्याप्त नहुने देखिएको छ ।
कोहलपुर नगरपालिकाले पनि ५ शैयाको कोरोना अस्पताल निर्माण गरेर डाक्टरसहितको टोलीलाई तयारी अवस्थामा राखेको छ । सो अस्पतालमा ४ जना संक्रमित भर्ना भइसकेका छन् भने संक्रमित बढे अस्पतालसँगै जोडिएको प्राकृतिक चिकित्सालयलाई समेत प्रयोगमा ल्याउने तयारी नगरपालिकाले गरिरहेको छ ।
बाँकेमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै सबै स्थानीय तहले आवश्यक सुरक्षा मापदण्ड कार्यान्वयनमा जुटेका छन् । कोरोना प्रकोप बढिरहेको अवस्थामा सेवाप्रदायक स्थानीय निकायले सहजै सेवा प्रवाह गर्न सकिरहेका छैनन् । सेवा प्रदान गर्ने निकायका जनशक्तिलाई कोरोना संक्रमण भएपछि अधिकांश स्थानमा यो समस्या छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का सबै जनप्रतिनिधि संक्रमित भएका छन् । । सोही कारण त्यहाँको सेवा प्रभावित भएको छ । यसैगरी राप्तीसोनारी गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत १७ जना कर्मचारीमा कोभिड संक्रमण देखिएपछि सेवा प्रवाह रोकिएको छ । सेवा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले सहज भएपछि पुनः सुरु हुने गाउँपालिकाले जानएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: