पुल बग्दा गोरखा–धादिङ सम्पर्क टुट्यो, चार सडकमा पनि अवरोध

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २६

काठमाडौं । लगातारको बाढी र पहिरोले देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। केही सडक खण्डमा सवारीसाधन एकतर्फी रूपमा चलिरहेका छन् भने गोरखाको आरुघाट क्षेत्रमा दुईवटा पुल बगाएपछि गोरखा र धादिङ जोड्ने सडक पूर्ण रूपमा बन्द भएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल तथा वडा नम्बर ९ को नयाँपुलस्थित पक्की पुल बूढीगण्डकी नदीको बाढीले बगाएको हो। पुलमा क्षति पुगेपछि उक्त सडक हुँदै हुने आवागमन रोकिएको छ। यसले स्थानीय बासिन्दा तथा उक्त मार्ग प्रयोग गर्ने यात्रुलाई थप समस्या पारेको छ।

यसैबीच, धादिङको धुनिबेंसी नगरपालिका–९ खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथमा यातायात एकतर्फी भएको छ। म्याग्दीको बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरीमा पनि पहिरोका कारण सडक पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।

त्यस्तै, नवलपरासी पूर्वको कालीगण्डकी कोरिडोरस्थित बौदिकाली गाउँपालिका–३ को जन्ती क्षेत्रमा पहिरो खसेपछि सडक एकतर्फी मात्र खुलेको छ। उक्त स्थानमा ठूला सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। मनाङमा बेँसीसहर हुँदै खाङसार जाने सडक पनि बाढीका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

विभिन्न सडकमा अवरोध र जोखिम कायम रहेकाले यात्रा गर्नेहरूले सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। विशेषगरी पहिरो प्रभावित क्षेत्र र खोलानदी आसपासका सडकमा सतर्कता अपनाउनुपर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *