काठमाडौं — नेपालको छिमेकी मुलुक भारतमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा पनि त्यसको प्रभाव पर्न थालेको छ ।
कोरोना संक्रमणको अवस्थापछि भारत गई आएका कामदार एवं विद्यार्थीलगायत अन्य व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि नेपालमा कोरोना बढ्दो रहेको अनुमान गरिएको छ ।
कञ्चनपुरमा एक जना भारतबाट नेपाल फर्किएका कामदारमा कोरोना संक्रमणको पुष्टी भएको छ भने पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीमा कोरोना पुष्टी भएपछि कलेज नै बन्द गरिएको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयले पनि पछिल्ला समयमा कोरोनाको संक्रमण बढ्दै जान थालेको भन्दै सभा, सम्मेलन एवं भेला नगर्नका लागि निर्देशन दिइसकेको अवस्थामा विभिन्न स्थानीय तह एवं जिल्लाहरुले सभा सम्मेलन नगर्नका लागि अनुरोध गरेका छन् ।
पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या सयभन्दा कम र मृत्युसंख्या शुन्यप्रायः देखिँदै आएकोमा सोमबार गरिएको परिक्षणमा करिब एक तिहाईलाई कोरोना संक्रमण पुष्टी भएको र ३ जनाको निधन भएबाट नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने देखिएको छ ।
पछिल्लो समयको संक्रमित संख्या देखिनुलाई नेपालमा कोरोनाको दोस्रो लहर नमानिए पनि प्रत्यक्ष रुपमा भारतको प्रभाव र पछिल्ला केही महिनायताको असावधानी नै प्रमुख कारण भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् । ‘समयमै सचेत नहुने हो भने नेपालमा दोस्रो लहर नआउला भन्न सकिँदैन,’ उनी थप्छन् ।
यसैअनुरुप जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ । साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया