भोटेकोशी क्षेत्रमा आज वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १४

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ। मौसम बदली भइरहेकाले केही स्थानमा मध्यमदेखि भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसोपछि यी जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ। वर्षाका कारण नदीको बहाव बढ्न सक्ने र उद्धार तथा खोजी कार्यमा समेत कठिनाइ आउन सक्ने भएकाले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

भोटेकोशी र त्रिशूली नदी आसपास बाढीको जोखिम अझै कायम रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित रहन भनिएको छ। उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य टोलीलाई पनि मौसम र नदीको अवस्थाबारे निरन्तर जानकारी लिएर काम गर्न आग्रह गरिएको छ।

यद्यपि, मौसम विभागले अपराह्न ४ बजेपछि भने मौसम केही अनुकूल बन्न सक्ने सम्भावना रहेको जनाएको छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *