काठमाडौं । राष्ट्रिय जनमोर्चाले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगमा जुट्न आह्वान गरेको छ।
अध्यक्ष चित्रबहादुर केसीले शनिबार जारी गरेको वक्तव्यमार्फत पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई राहत रकम संकलन गर्न आग्रह गरेका छन्। संकलित रकम पीडितसम्म प्रत्यक्ष पुर्याउने वा सरकारलाई हस्तान्तरण गर्ने जनाइएको छ।
जनमोर्चाले राजनीतिक दल, संघसंस्था, उद्योगी–व्यवसायी र पेशागत संगठनलाई समेत विपद्मा परेकाको सहयोगमा सक्रिय हुन आग्रह गरेको छ। विगतमा राहत दुरुपयोग भएको उल्लेख गर्दै यसपटक पारदर्शिता कायम गर्न सरकारलाई सचेत गराइएको छ।
बाढीको कारणबारे गम्भीर अध्ययन गर्दै जलवायु परिवर्तनको प्रभाव, पूर्वसूचना र पूर्वतयारीमा सरकारले विशेष ध्यान दिनुपर्ने पार्टीको भनाइ छ। साथै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उद्धार, उपचार र प्रभावितलाई प्रभावकारी राहत उपलब्ध गराउन माग गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्