भोटेकोशी बाढीपछि उद्धार अभियान तीव्र, बिहानैदेखि हेलिकप्टर परिचालन गरिँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ११

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारलाई तीव्रता दिइने भएको छ। जोखिममा रहेका तथा घाइतेलाई सुरक्षित स्थानमा लैजान आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने तयारी गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार र उपचारलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरमा नेपाली सेनाले स्थापना गरेका शिविरमा लैजाने व्यवस्था मिलाइएको छ।

गम्भीर अवस्थाका घाइतेलाई भने थप उपचारका लागि हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याइनेछ। घाइतेको अवस्थाको मूल्यांकन गरी प्राथमिकताका आधारमा उद्धार तथा उपचारको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।

उद्धारसँगै प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री पनि पठाउन थालिएको छ। स्थलमार्गबाट राहत सामग्री विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउने काम अघि बढाइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार र राहत वितरणलाई समन्वयात्मक रूपमा अगाडि बढाउँदै थप जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *