चीन भ्रमणमा जाँदै रवि लामिछाने, उच्च चिनियाँ नेतृत्वसँग भेटवार्ताको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी भदौ ७ गते चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा उनी पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्।

लामिछानेको चीन भ्रमण भदौ ७ देखि १४ गतेसम्म हुने बताइएको छ। भ्रमणका क्रममा उनले बेइजिङमा चिनियाँ राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रारम्भिक कार्यतालिकाअनुसार लामिछानेले चीनका उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट गर्ने सम्भावना छ। उनको पहिलो राजनीतिक भेट सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुने बताइएको छ।

यसअघि लामिछानेको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति तथा सीपीसी महासचिव सी चिनफिङसँग भेट गराउने प्रयास भइरहेको चर्चा थियो। तर हालसम्म सार्वजनिक भएको प्रारम्भिक कार्यक्रम भने सीसँगको भेट समेटिएको छैन। स्रोतका अनुसार यसपटक सीसँग भेट हुने सम्भावना कम रहेको छ।

चीन भ्रमणमा लामिछानेकी पत्नी निकिता पौड्यालसहित पाँच सदस्य सहभागी हुने बताइएको छ। बेइजिङपछि टोली तिब्बत हुँदै कैलाश मानसरोवर क्षेत्र पुग्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।

लामिछानेको चीन भ्रमणलाई भारतपछि उनको अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय राजनीतिक यात्राका रूपमा हेरिएको छ। यसअघि जेठ १९ देखि २३ गतेसम्म भारत भ्रमण गरेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए।

रास्वपाका अनुसार चीन भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध, राजनीतिक दलबीचको सहकार्य तथा क्षेत्रीय र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *