काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै आर्थिक तथा प्रशासनिक विषयमा महत्वपूर्ण निर्णय लिने कार्यसूची तय गरिएको छ।
आजको बैठकको सुरुआत राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाइनेछ। त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ संसद्मा पेस गर्नेछन्। साथै सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पनि प्रस्तुत गरिनेछ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारणसम्बन्धी संशोधन विधेयक संसद्मा दर्ता गराउनेछन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी ऐन संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ भने स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधन विधेयक अघि बढाउनेछिन्।
बैठकमा आर्थिक विधेयक, २०८३ माथिको संशोधनसहित छलफल गरी पारित गर्ने प्रस्ताव पनि निर्णयार्थ पेश हुनेछ। साथै राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफल गरी पारित गर्ने तयारी छ। बैठकको अन्त्यमा प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्