कर्णाली यशविसले एभरेस्ट महिला भलिबल लिगको उपाधि दोस्रोपटक रक्षा गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाडौं । साविक विजेता कर्णाली यशविसले रोमाञ्चक फाइनल मुकाबिलामा ललितपुर क्वीन्सलाई ३–२ को सेटमा पराजित गर्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि लगातार दोस्रोपटक जित्न सफल भएको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनल खेलमा कर्णालीले पहिलो दुई सेट जितेर २–० को अग्रता बनाएको थियो। पहिलो सेट टाइब्रेकमा २६–२४ ले जितेको कर्णालीले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो।

तर ललितपुर क्वीन्सले तेस्रो सेट २५–१३ र चौथो सेट २५–१७ ले जित्दै खेललाई पाँचौँ सेटसम्म पुर्‍यायो। निर्णायक सेटमा कर्णालीले पुनः प्रभावशाली खेल प्रदर्शन गर्दै १५–८ ले जित हात पार्‍यो र उपाधि रक्षा गर्‍यो।

ललितपुर क्वीन्स भने लगातार दोस्रोपटक उपविजेतामै सीमित रहन बाध्य भयो। पहिलो संस्करणमा पनि ललितपुर फाइनलमै कर्णालीसँग पराजित भएको थियो।

इन्फिनिटी ड्रिम्सको आयोजनामा सम्पन्न लिगमा कुल ६ टोलीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *