काठमाण्डौँ । जेनजी आन्दोलनपछि सक्रिय रूपमा जेनजी अगुवाहरूको अनुहार समेटेर ‘नेपाल जेनजी फ्रन्ट’ गठन भएपछि सातवटै प्रदेश संयोजकहरू तोकिएका छन् ।
अभियन्ता रक्षा बमको संयोजकत्वमा गठन भएको नेपाल जेनजी फ्रन्टले शनिबार प्रदेश संयोजकहरू तोक्दा ६ वटा प्रदेशको नाम लिए पनि कोशी प्रदेशको सट्टामा प्रदेश नम्बर १ भनेर तोकिएको छ ।
प्रदेश सभाले कोशी नामकरण गरेता पनि एक समूहले किराँतको पहिचान झल्कने गरी प्रदेशको नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ । यस्तो अवस्थामा नेपाल जेनजी फ्रन्टले कोशी प्रदेशको नाम अस्वीकार गरेको हो ।
फ्रन्टकी संयोजक रक्षा बमले स्थानीय जनताको माग र आन्दोलनरत पक्षको भावनालाई सम्बोधन नगरी गरिएको नामकरण स्वीकार्य नहुने बताएकी छिन् । कोशी प्रदेश नामकरणको विषयमा अहिले पनि विवाद चलिरहेको भन्दै बमले जेनजी फ्रन्ट यस विषयमा स्थानीय जनताको पक्षमा रहेको स्पष्ट पारिन् । उनले स्थानीयस्तरमा नामकरणप्रति व्यापक असन्तुष्टि रहेको पनि उल्लेख गरिन् ।
उनले स्थानीय बासिन्दाहरूले स्वीकार गरेको नामकै पक्षमा आफूहरू उभिने समेत बताएकी छिन् । ।
नामकरणसम्बन्धी निर्णय गर्दा स्थानीय सरोकारवाला र आन्दोलनरत पक्षहरूसँगको छलफल महत्त्वपूर्ण हुने जेनजी फ्रन्टको भनाइ छ । भविष्यमा आउने जुनसुकै निर्णय पनि स्थानीय बासिन्दाहरूको मागलाई सम्बोधन गरेर आउनुपर्ने र सोही निर्णयलाई आफूहरूले स्वीकार गर्ने उनले बताइन् ।
कोशी प्रदेशको नामकरणलाई स्थानीय जनताको भावना र अपनत्वको कसीमा हेरेको ‘जेनजी फ्रन्टले जनाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्