अन्याय भए तत्क्षण लड, मिडियामा मुद्दा नबनाऊ’

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १९

काठमाडौं – हालै अमेरिकाको एक महिनाको सांगीतिक यात्राबाट फर्किएकी गायिका एलिना चौहान र आयोजकबीचको विवादपछि अर्को गायिका ज्योति मगरले सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गरेकी छिन्। उनले एलिनालाई व्यक्तिगत असन्तुष्टि मिडियामा उछाल्नु उचित नहुने सल्लाह दिएकी छन्।

ज्योतिका अनुसार कलाकारबीचको मतभेद र समस्या त्यहीँ समाधान गर्नु नै बुद्धिमानी हुन्छ। उनले लेखेकी छन्, “हामीले जहाँ समस्या भयो, त्यहीँ छलफल गरेर समाधान गर्‍यौं। आफ्नो जिम्मेवारी पनि पूरा गर्‍यौं र आत्मसम्मान पनि जोगायौं।”

उनले मिडिया र सामाजिक सञ्जालमा मुद्दा सार्वजनिक गर्ने प्रवृत्तिको विरोध गर्दै भनिन्, “आफ्नो आत्मसम्मानका लागि लड्दा अरूको इज्जतमा आच नपरोस् भन्ने सोच राखेकी हुँ, त्यसैले मैले एलिनाको नाम नलिई स्टाटस लेखेकी हुँ।”

ज्योतिले एलिना र विनोद अधिकारीबीचको विवादमा आफूले अन्यायपूर्वक आलोचना सहनु परेको गुनासो पनि गरेकी छन्। उनले लेखेकी छन्, “आरोप प्रत्यारोप गर्ने एलिना र विनोद अधिकारी भए, तर गाली खाने हामी? मैले अमेरिकामा सबैभन्दा कम पारिश्रमिकमा कार्यक्रम गरेकी थिएँ, अग्रिमेन्ट अनुसार मात्रै पैसा लिइन्, बढी छैन।”

उनका अनुसार आयोजकसँगको असहमति पनि सभ्य रूपमा समाधान गरिएको थियो। “परिस्थितिअनुसार परिपक्व निर्णय गरेर हामीले सबै कार्यक्रम सफल पार्यौं,” उनले थपेकी छन्।

सामाजिक सञ्जालमा एलिनाको समर्थन नगरेको आरोपपछि ज्योतिले स्पष्ट पार्दै भनिन्, “घरेलु हिंसामा एलिनाको पक्षमा बोल्ने पहिलो म नै थिएँ। तर व्यक्तिगत प्रेम, ब्रेकअप वा साउण्ड सिस्टमका समस्याजस्ता विषयमा बोलिरहनु आवश्यक छैन।”

ज्योतिले आफूले पनि अमेरिकामा अन्यायपूर्ण व्यवहार सहनुपरेको प्रसंग स्मरण गर्दै आयोजकको गलत नियतका कारण प्रहरी संलग्न हुनुपरेको खुलासा गरेकी छन्।

त्यस्तै, उनले पत्रकार प्रकाश सुवेदीमाथि पनि व्यंग्य गर्दै लेखेकी छन्, “टीआरपीको लागि अरूको व्यक्तिगत विषय उछालेर पत्रकारिता गर्ने काम राम्रो होइन। हामी पैसाको लागि बोल्दैनौं, न आयोजकको जुत्ता चाट्छौं। हामी आवश्यक ठाउँमा बोल्छौं, तर मिडियामा प्रदर्शन गर्दैनौं।”

उनको भनाइमा कलाकारको आत्मसम्मान जोगाउँदै जिम्मेवार रूपमा काम गर्नु नै प्रमुख कुरा हो, मिडियामा हल्ला मच्चाउनु होइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *