काठमाडौं, असोज २० — जेनजी आन्दोलनपछिको राजनीतिक तरंगसँगै नेकपा (माओवादी केन्द्र) भित्र नेतृत्व हस्तान्तरणको माग तीव्र भइरहँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने नेतृत्व छोड्ने मुडमा छैनन्। बरु, उनले ‘एजेन्डा मिल्नेसँग मोर्चा, विचार मिल्नेसँग एकता’ भन्ने रणनीति अघि सारेका छन्।
सोमबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको महाधिवेशन आयोजक समिति सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले हालको राजनीतिक परिस्थिति, प्राकृतिक विपद् र आगामी कार्ययोजनाबारे नेताहरूलाई ब्रिफिङ गरे। उनले मोर्चा र सम्भावित एकताका लागि संवाद तीव्र पारिएको जानकारी पनि दिए।
बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सञ्चारकर्मीलाई जानकारी दिँदै, “अध्यक्ष दाहालले एजेन्डा मिल्नेसँग मोर्चा विस्तार र विचार मिल्नेसँग एकताको लागि सकारात्मक छलफल भइरहेको” बताए।
यसअघि सम्पन्न केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनले उठाएका मुद्दाहरूको गम्भीर समीक्षा गर्दै आउँदो मंसिरमा विशेष महाधिवेशन आह्वान गर्ने निर्णय गरिसकेको छ। उक्त महाधिवेशनमार्फत युवा पुस्ताको उल्लेख्य सहभागिता सुनिश्चित गरिने अध्यक्ष प्रचण्डले स्मरण गराएका थिए।
तर, नेतृत्व हस्तान्तरणको चर्को आवाज उठिरहे पनि प्रचण्ड सत्ता हस्तान्तरणमा तयार छैनन्। उनी पार्टीभित्रको सन्तुलन मिलाउँदै, मोर्चा विस्तार र सम्भावित एकताको माध्यमबाट आफ्नो नेतृत्व कायम राख्ने कूटनीतिक रणनीतिमा केन्द्रित देखिन्छन्।
पार्टी सचिवालयको अर्को बैठक दुई दिनपछि बस्ने तय भएको छ, जसमा महाधिवेशनको तयारी, सम्भावित एकता, मोर्चा विस्तार र संगठनात्मक विषयमा थप निर्णय हुने बताइएको छ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्