माधव पक्षको उद्घोषः चार महिनाभित्र माओवादीसँग एकता, देशकै ठूलो पार्टी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ९

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसद मेटमणी चौधरीले अबको चार महिनामा नेकपा माओवादीसँग एकीकरण गर्ने बताएका छन् ।

अबको चार महिनामै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता हुने र सबैभन्दा ठूलो पार्टी बन्ने उनले उद्घोष गरे ।

‘अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छ’, उनले भने, ‘त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ। हामीबीच कुरा अघि बढेको छ।’

चौधरीले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका अन्य कम्युनिष्ट घटकबीच पनि एकता गरेर बलियो पार्टी बनाउने दाबी पनि गरेका छन्।

‘माओवादीसित अन्य साना दलहरूसँग पनि हामी एकताको प्रक्रियामा छौँ’, उनले भने, ‘४ महिनामै हामी देशको सबैभन्दा ठूलो पार्टी बन्ने दिशामा छौँ।’

उनले आफूहरु एकल अध्यक्ष, बहुमतीय प्रणालीमा नेकपा एकीकृत समाजवादी जाने बताए। त्यसका लागि पार्टीमा १७ जना पदाधिकारी राखिने पनि जानकारी दिएका छन्।

चौधरीले दोस्रो पुस्ताका नेताहरुले माधव नेपाललाई उचालेर अन्तिममा धोका दिएको पनि बताए। ‘सबै मान्छे युद्धको मैदानमा रहँदैनन् नि’, उनले भने, ‘माधव नेपालसँग हामी छौँ। अब हामी अघि बढेका छौँ।’

एमालेमा केपी ओली अध्यक्ष हुन्जेल कुनै पनि प्रकारको सहकार्य नहुने उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *