सोलुखुम्बुका स्थानीय तहहरूमा खुम्बु पासाङ ल्हमु गाउँपालिकाको बजेट सबैभन्दा बढी, ९४ करोड विनियोजन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार १०

सोलुखुम्बु, १० असार – सोलुखुम्बु जिल्लाका स्थानीय तहहरू मध्ये खुम्बु पासाङ ल्हमु गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सबैभन्दा ठूलो बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले आगामी वर्षका लागि कुल ९४ करोड १० लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो।

गाउँपालिकाले सार्वजनिक गरेको बजेट विवरण अनुसार आर्थिक विकासतर्फ ८ करोड ९३ लाख ५० हजार, सामाजिक विकासका लागि २५ करोड ६२ लाख ६६ हजार, भौतिक पूर्वाधार विकासतर्फ ३९ करोड २५ लाख ५० हजार, सुशासन तथा अन्तरसम्बन्ध सम्बद्ध क्षेत्रमा ९ करोड ७८ लाख ५० हजार, र कार्यालय सञ्चालन तथा प्रशासन व्यवस्थापनका लागि १० करोड ५० लाख छुट्याइएको छ।

बजेट विनियोजनलाई चालु र पुँजीगत वर्गमा विभाजन गरिएको छ, जसअनुसार चालु खर्चतर्फ ३२ करोड ४० लाख ९८ हजारपुँजीगत खर्चतर्फ ६१ करोड ६९ लाख १८ हजार रुपैयाँ छुट्याइएको छ।

गाउँपालिकाले शिक्षा, पर्यटन र यातायात पूर्वाधारलाई प्राथमिकता दिने बताएको छ। खुम्बु क्षेत्र अन्तर्राष्ट्रिय पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने भएकाले पूर्वाधार विस्तारसँगै पर्यटन प्रवर्द्धनमा लगानी गरिने योजना छ।

गाउँपालिका अध्यक्षले भने, “हामीले आगामी वर्षलाई विकासको आधारशिला बनाउने लक्ष्यसाथ योजनाहरू निर्माण गरेका छौं। विशेषगरी शिक्षा र पूर्वाधारमा लगानी गर्दै खुम्बु क्षेत्रलाई समृद्ध बनाउने उद्देश्य राखिएको छ।”

बजेट निर्माणमा स्थानीय जनताको सरोकार, आवश्यकता र दीर्घकालीन विकास दृष्टिकोणलाई ध्यानमा राखिएको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *