पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँमा ग्यास अभाव चुलियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २२

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग आठ दिनदेखि अवरुद्ध छ । धादिङको कृष्णभीरमा पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा खाद्यान्नको आपूर्तिमा असर परेको छ ।

ग्यास बोकेका सवारी बाटोमै रोकिए

खाद्यान्न आयातमा देखिएको असन्तुलनको असर तत्काल ठूलो रूपमा नदेखिए पनि पहिल्यैदेखि रहँदै आएको खाना पकाउने ग्यासको अभाव भने झनै चुलिएको छ । सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकातर्फ आउँदै गरेका ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका कतिपय सवारीसाधन बाटोमै रोकिएका छन् ।

काठमाडौँका विभिन्न ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढ्न थालेको छ । नयाँ सडकस्थित धर्मपथ क्षेत्रमा समेत ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ ।

काठमाडौँ र आसपासका क्षेत्रमा रिफिल हुने गरी आयात गरिने ग्यासका बुलेटसमेत समयमा आउन सकेका छैनन् । ग्यासको अभाव काठमाडौँमा मात्रै सीमित नभई प्रमुख सहरका ग्यास डिलरहरूमा समेत उपभोक्ताको लाइन घटेको छैन ।

मूल्य बढे पनि सहजै ग्यास नपाइने अवस्था

ग्यासको मूल्य बढेको अवस्थामा मागसमेत बढिरहेको छ । बढी मूल्य तिर्न तयार हुँदासमेत उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । कतिपय उपभोक्ता मध्यरातदेखि नै ग्यासका लागि लाइनमा बस्न बाध्य भएका छन् ।

दुई महिनादेखि विभिन्न चोक तथा बिक्री केन्द्रमा ग्यासका लागि लामो लाइन देखिँदै आएको अवस्थामा सडक अवरोधले समस्या थप गम्भीर बनाएको छ ।

सडक नखुले थप समस्या निम्तिने जोखिम

राजमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास गरिरहेका छन् । तर सडक तत्काल सञ्चालनमा आउन नसके काठमाडौँ उपत्यकामा ग्याससहित पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा थप समस्या उत्पन्न हुनसक्ने जोखिम देखिएको छ ।

जनजीवन नै प्रभावित हुने गरी ग्यासको अभाव बढ्दै गए पनि सरकारले समस्या समाधानका लागि गम्भीर र प्रभावकारी कदम चाल्नुपर्ने उपभोक्ताहरूको माग छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *