हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यास अभाव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १२

काठमाडौँ । हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ । सातवटै गाउँपालिका केन्द्रमा पहिले पाउने ग्यास हाल उपलब्ध नहुँदा स्थानीयवासीलाई समस्या परेको हो ।

सदरमुकाम सिमकोट र अन्य छ वटा गाउँपालिकाका बजारमा ग्यासको अभाव देखिएको बताउँदै आदित्य जनरल स्टोरका सञ्चालक रेशम महतले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज–सुर्खेतबाट ग्यास आपूर्ति नियमित नभएको कारण हुम्लामा ग्यास अभाव देखिन थालेको हो । दैनिक ग्यास लिन आउने ग्राहकहरू सिलिन्डर नपाएपछि फर्किन बाध्य हुने गरेका छन् ।

सिमकोटमा केही थान आधा भरिएका ग्यास आइपुगेका भए पनि ती पनि सकिसकेका छन् । ग्यास अभावका कारण आधा सिलिन्डर ग्यासको मूल्य उपभोक्ताले एक हजार पाँच सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ ।

सर्केगार्ड गाउँपालिका केन्द्रकी उपभोक्ता वसन्ती शाहीले चार दिनदेखि बजारमा ग्यास अभाव रहेको बताए । केही दिनअघि सर्केगार्डमा आइपुगेका २० वटा आधा भरिएका ग्यास उपभोक्ताले सबै खरिद गरेका थिए। यस्तै समस्या चङ्खेली गाउँपालिका (पिप्लाङ), खार्पुनाथ गाउँपालिका (याङ्चुबजार), अदानचुली गाउँपालिका (श्रीनगर) र ताँजाकोट गाउँपालिका (छप्रेला) मा पनि देखिएको छ ।

ग्यास अभावका कारण स्थानीयवासीहरूले दाउरामा खाना पकाउने व्यवस्था गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *