कृष्णभिरमा पहिरो पन्छाउने काम तीव्र, रुख कटानपछि उपकरण परिचालन गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १८

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरो पन्छाउने काम अगाडि बढाइएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान सुरु गरिएको हो ।

पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ । रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो हटाउने काम सुरु गरिने मन्त्रालयको भनाइ छ ।

सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखेर काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयले जनाएको छ । पहिरो ठूलो भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने भए पनि उपलब्ध जनशक्ति तथा उपकरण अधिकतम परिचालन गरेर काम भइरहेको मन्त्रालयको दाबी छ ।

सडक अवरुद्ध हुँदा आपूर्ति शृंखला प्रभावित

कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकाको आपूर्ति शृंखलामा प्रत्यक्ष असर परेको छ । पृथ्वी राजमार्ग हुँदै उपत्यका भित्रिने तथा बाहिरिने मालवाहक सवारीसाधन प्रभावित हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको हो ।

सडक अवरुद्ध भएपछि यात्रुले समेत ठूलो सास्ती बेहोर्नुपरेको छ । वैकल्पिक सडकमा सवारीको चाप बढ्दा यात्रा थप कठिन बनेको छ ।

यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले बजारमा कृत्रिम अभाव सिर्जना गर्न थालेको गुनासोसमेत बढेको छ । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको भन्दै कतिपय व्यापारीले मूल्य बढाउन थालेपछि उपभोक्ता थप मारमा परेका छन् ।

सरकारले भने सडक खुलाउने कामसँगै बजारमा कृत्रिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *