काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पहिचान र उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। यस क्रममा नेपालले पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा बाढी प्रभावितको पहिचानका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सिंगापुरसँग अनुरोध गरिएको जानकारी दिए।
उनका अनुसार नेपालले संयुक्त राज्य अमेरिकासँग डीएनए परीक्षणका लागि सहयोग तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउन आग्रह गरेको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
यसअघि नै भारत, चीन, फ्रान्स, अमेरिका, यूएई र दक्षिण कोरियालगायत मुलुक तथा विभिन्न अन्तर्राष्ट्रिय साझेदारबाट उद्धार तथा राहत सामग्री नेपालमा प्राप्त भइसकेको क्षेत्रीले बताए।
विदेशी तथा अन्तर्राष्ट्रिय साझेदारबाट उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन, कम्बल, स्लीपिङ ब्याग, खाद्यान्न र औषधिलगायत सामग्री सहयोगस्वरूप प्राप्त भएका छन्।
भारतबाट विशेष तालिमप्राप्त उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने दक्षिण कोरियाली टोलीसमेत घटनास्थलमा खटिएको मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनिसेफबाट पनि थप राहत तथा आवश्यक सामग्री आउने क्रममा रहेको बताइएको छ।
प्रवक्ता क्षेत्रीका अनुसार विपद्को तत्कालीन उद्धार तथा राहतसँगै पुनःस्थापना र पुनर्निर्माणका लागि पनि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्नेछ। बाढीबाट भएको वास्तविक क्षतिको मूल्यांकनपछि घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक स्रोत र बजेट निर्धारण गरिनेछ।
सरकारले विपद्पछिको पुनर्निर्माणलाई व्यवस्थित बनाउन क्षतिको विस्तृत मूल्यांकन गरी आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने तयारी गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्