काठमाडौं । कुमारी बैंक लिमिटेडले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापना कार्यमा सघाउन ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ ।
बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो । विपद्मा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।
यसैगरी, प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै अवस्थाको निगरानीलाई प्रभावकारी बनाउन बैंकले करिब ३९ लाख रुपैयाँ मूल्यका विभिन्न उपकरणसमेत उपलब्ध गराएको छ । यसअन्तर्गत एआई प्रविधिसहितका पाँचवटा निगरानी ड्रोन, ५ केभीए क्षमताका तीनवटा पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक रहेका छन् ।
उक्त सामग्री नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको बैंकले जनाएको छ । विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा जनजीवन प्रभावित भएको अवस्थामा उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन उपकरण सहयोग गरिएको हो ।
बैंकले नेपाल सरकारसँगको समन्वयमा प्रभावित परिवारलाई खाद्यान्न, अस्थायी आवास तथा अन्य आवश्यक मानवीय सहायता पुर्याउने कार्यमा सहयोग गर्ने जनाएको छ ।
कुमारी बैंकले प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा समुदायप्रतिको आफ्नो सामाजिक दायित्वलाई निरन्तरता दिँदै आएको बताएको छ । बैंकले पछिल्लो सहयोगले विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका प्रयासलाई थप बल पुग्ने अपेक्षा गरेको छ ।
विपद्का कारण प्रभावित भएका परिवारप्रति सहानुभूति व्यक्त गर्दै बैंकले राहत तथा उद्धारमा संलग्न सम्बन्धित निकायलाई काम अझ प्रभावकारी बनाउन आग्रह गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको सुरक्षित उद्धारका लागि बैंकले शुभेच्छा व्यक्त गरेको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्