काठमाण्डौँ । अफगान सीमामा चुलिँदो तनावकैबिच उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो ४८ घण्टाभित्र भएका शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ ।
प्रहरी स्रोतका अनुसार मारिनेमा १५ जना प्रहरी कर्मचारी र चार जना सर्वसाधारण रहेका छन् भने दुई प्रहरी अधिकारी अझै बेपत्ता छन् । पेसावरस्थित एक वरिष्ठ प्रहरी अधिकारीले विगत दुई दिनयता प्रान्तका विभिन्न जिल्लामा भएका विस्फोट, गोलीबारी र लक्षित आक्रमणमा ठूलो क्षति पुगेको बताए ।
उनका अनुसार अपहरणमा परेका दुई प्रहरी अधिकारीको अवस्था अज्ञात रहेको छ र खोजी कार्य जारी छ । यी आक्रमण अफगान र पाकिस्तानी सुरक्षाबलबिच सीमा क्षेत्रमा केही दिनअघि भएको गोलीबारीपछि भएका हुन् । दुवै पक्षले सीमामा शत्रुता भड्काएको आरोप एकअर्कामाथि लगाउँदै आएका छन् । घटनापछि सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।
अधिकांश हमलाको जिम्मा तेहरीक(ए(तालिबान पाकिस्तान (टिटिपी) ले लिएको छ । सन् २०२१ मा काबुलमा अफगान तालिबान पुनः सत्तामा फर्किएपछि टिटिपीले पाकिस्तानभित्र आक्रमण तीव्र बनाएको इस्लामावादको दाबी छ । यसै क्रममा सेनाले प्रान्तका विभिन्न स्थानमा सञ्चालन गरेको चार वटा छुट्टै प्रतिआक्रमणमा २६ जना आतङ्कवादी मारिएको जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्