कुमारी बैंकको शानदार कमब्याक, ग्राहक र लगानीकर्तालाई खुसीको खबर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ६

काठमाडौं । कुमारी बैंकले चार वर्षपछि सञ्चित नोक्सानीबाट बाहिरिँदै लाभांश वितरण गर्न सक्ने अवस्थामा पुगेको छ । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको नेतृत्वमा बैंकले पछिल्लो समय वित्तीय अवस्थामा उल्लेख्य सुधार गर्दै नयाँ उचाइतर्फ अघि बढेको हो ।

आर्थिक वर्ष २०८२/८३ मा बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३०६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको बैंक यसपटकको उल्लेख्य नाफासँगै उक्त नोक्सानीबाट बाहिरिन सफल भएको छ ।

बैंकको वितरणयोग्य नाफा ७९ करोड १७ लाख रुपैयाँ पुगेको छ । यसका आधारमा बैंकले चुक्ता पुँजीको करिब ३ दशमलव ०२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ । चार वर्षपछि लाभांश वितरण गर्न सक्ने अवस्थामा पुग्नु बैंकका लगानीकर्ता तथा ग्राहकका लागि सकारात्मक खबरका रूपमा हेरिएको छ ।

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी र फि–कमिसन आम्दानीमा भएको सुधारसँगै १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँको प्रोभिजन राइटब्याकले समेत महत्वपूर्ण भूमिका खेलेको छ ।

यद्यपि बैंकको निष्क्रिय कर्जा ७ दशमलव ४६ प्रतिशत पुगेकाले खराब कर्जाको चुनौती अझै कायमै छ । त्यसका बाबजुद विगतको तुलनामा वित्तीय सूचकमा सुधार गर्दै कुमारी बैंक पुनः लाभांश वितरण गर्न सक्ने अवस्थामा पुग्नुलाई बैंकको सुधार यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ ।

प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको नेतृत्वमा बैंकले आगामी दिनमा नाफा, व्यवसाय विस्तार र वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *