ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब २२ करोड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २०

काठमाडौं : ग्लोबल आइएमई बैंकले ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेर ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको  छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ थियो । गत आवमा बैंकको नाफा २२.६७ प्रतिशतले बढेर छ ।
बैंकले गत असार मसान्तसम्ममा १६ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्ष १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ थियो।

अघिल्लो आर्थिक वर्षको ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकको निक्षेप २१.५३ प्रतिशतले बढेर ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको बैंकको कर्जा प्रवाह ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँ थियो । बैंकको खुद नाफा, लाभांश क्षमता र कुल सम्पत्तिको आकारमा सकारात्मक वृद्धि देखिएको छ।

कर्जा नोक्सानी व्यवस्था (इम्पेरिमेन्ट चार्ज) अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँबाट २०.२४ प्रतिशतले घटेर ४ अर्ब ७८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँबाट २०.०३ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ। बैंकले साधारण सेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने बलियो क्षमता बनाएको छ। नियमनकारी समायोजनहरूपश्चात् गत असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ३ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

जसमा अघिल्लो आर्थिक वर्षको सञ्चित नाफा र नगद लाभांश भुक्तानी समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ। साधारण सेयरधनीहरूका आधारमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १२ रुपैयाँ २ पैसा कायम भएको छ। ग्लोबल आइएमई बैंकको कुल सम्पत्तिको आकार ८ खर्ब २० अर्ब नाघेको छ।

बैंकको चुक्ता पुँजी ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ कायम रहेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ६९ अर्ब ८० करोड ६२ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्तिको आकार ६ खर्ब ८८ अर्ब ८० करोड रुपैयाँबाट बढेर ८ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

खुद नाफा २२.६७ प्रतिशत बढ्नु, शुद्ध खराब कर्जा १.२२ प्रतिशतबाट उल्लेख्य घटेर ०.५९ प्रतिशतमा सीमित हुनु र कुल वितरणयोग्य मुनाफा साढे ४ अर्ब कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *