काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा झण्डै ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.८० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ रहेको थियो ।
बैंकको नाफामा उल्लेख्य वृद्धि हुनुको मुख्य कारण भनेको खराब कर्जा (NPL) को कमी हो । अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको खराब कर्जा दर यस वर्ष घटेर ०.३८ प्रतिशतमा झरेको छ । यसले बैंकको जोखिम न्युनिकरणसँगै नाफा वृद्धि गर्न सहयोग पुर्याएको विश्लेषण गरिएको छ ।
बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो आम्दानी ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ थियो । यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी १३.८३ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी १७.४७ प्रतिशतले बढेर ११ अर्ब १६ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३१.६३ प्रतिशतले वृद्धि भई ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ५० प्रतिशतले बढेर ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यस आधारमा बैंकले ३८.२७ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ । अघिल्लो वर्ष वितरणयोग्य नाफा ३ अर्ब ३० करोड रुपैयाँ थियो र लाभांश क्षमता २८.०६ प्रतिशत मात्र थियो ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने सेयर प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
निक्षेप संकलन ३८.६२ प्रतिशतले वृद्धि भई २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १९.८६ प्रतिशतले बढेर २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (EPS) अघिल्लो वर्षको ३१.४७ रुपैयाँबाट बढेर ३७.९९ रुपैयाँ पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २४७.३९ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात (P/E Ratio) १८.४७ गुणा कायम रहेको छ ।
एभरेष्ट बैंकको वित्तीय सूचकहरू हेर्दा हालको अवस्थामा बैंक मजबुत वित्तीय स्थितिमा रहेको देखिन्छ । खराब कर्जाको न्यून स्तर, ब्याज तथा गैर-ब्याज आम्दानीमा स्थिर वृद्धि र उच्च वितरणयोग्य नाफाले आगामी दिनमा पनि स्थिरता र दीर्घकालीन लाभांश क्षमताको अपेक्षा गर्न सकिन्छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्