काठमाडौं l नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। नेपालमा विद्युतीय तथा नवीनतम मोबिलिटी समाधानहरूलाई प्रोत्साहन गर्न आयोजित यो एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नुभयो।
उद्घाटन समारोहमा मन्त्री पौडेलले दिगो र स्वच्छ यातायात प्रणालीतर्फको नेपाल सरकारको प्राथमिकता र निजी क्षेत्रको सहयोगमा हुने यस्ता प्रदर्शनीहरूले नयाँ प्रविधिको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो।
नाइमा अध्यक्ष रितु सिंह वैद्यका अनुसार, एक्स्पोमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहेको छ।
प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कमर्सियल गाडीहरू सार्वजनिक गरिएको छ। तीमध्ये धेरैजसो विद्युतीय (EV) सवारीसाधनहरू हुन्, जसले हरित प्रविधितर्फको नेपालको यात्रा स्पष्ट पार्छ।
यस वर्षको एक्स्पोको मुख्य प्रायोजकमा एभरेष्ट बैंक लिमिटेड र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्। यी प्रायोजक कम्पनीहरूले आगन्तुकहरूको सुविधाका लागि विभिन्न आकर्षक योजनाहरू सार्वजनिक गरेका छन्।
साथै, राइड पार्टनर पठाओले एक्स्पोमा आउने दर्शकहरूका लागि भृकुटीमण्डप गन्तव्य भएका राइडहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गरेको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को मुख्य उद्देश्य नवीनतम सवारी प्रविधिहरूलाई आम जनसमक्ष ल्याउने, विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने, र दिगो विकासतर्फ सवारी क्षेत्रको भूमिका मजबुत बनाउने रहेको आयोजकले जनाएको छ।
एक्स्पो केही दिनसम्म चल्नेछ, जहाँ आगन्तुकहरूले विभिन्न कम्पनीका नयाँ मोडलका सवारीहरू अवलोकन तथा परीक्षण पनि गर्न सक्नेछन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्