काठमाण्डौँ । भारतीय चिया बोर्डले नयाँ ‘कोरिजेन्डम–२’ जारी गरेपछि नेपाली चियाको भारत निर्यातमा देखिएको १९ दिने अवरोध हटेको छ । मे १ देखि लागू गरिएको अनिवार्य गुणस्तर परीक्षण नियमका कारण नेपाली चिया निर्यात ठप्प बनेको थियो ।
यसअघि हरेक खेपको चिया परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको थियो, जसका कारण रिपोर्ट आउन १०–१५ दिन लाग्ने र चिया नाकामै रोकिँदै आएको थियो। नेपाली व्यवसायीहरूले यसलाई ‘अघोषित नाकाबन्दी’ भन्दै विरोध गरेका थिए ।
नेपाल सरकार, चिया व्यवसायी र भारतस्थित नेपाली दूतावासको पहलपछि भारतले नियममा लचकता अपनाएको हो । नयाँ व्यवस्थाअनुसार अब भारतको आन्तरिक बजारका लागि जाने चियामा अनिवार्य परीक्षण नहुनेछ भने ‘र्यान्डम’ रूपमा मात्र नमुना परीक्षण गरिनेछ ।
व्यवसायीहरूले बुधबारदेखि नै चिया निर्यात पुनः सुचारु हुने बताएका छन्। वार्षिक ५–६ अर्ब रुपैयाँ बराबरको नेपाली चिया भारत निर्यात हुने गरेको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्